स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पुर्चौंडी उत्कृष्ट सबैभन्दा कम सुर्नया

बैतडी भदौ ८ : बैतडीको पुर्चौंडी नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा जिल्लामै उत्कृष्ट देखिएको छ । पालिकाहरूले गत आर्थिक वर्ष ०७/८० मा गरेका कामको विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा पुर्चौंडी नगरपालिकाले जिल्लाका १० पालिकामध्ये सबैभन्दा धेरै अंक प्राप्त गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणमा उल्लेख छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको नतिजा अनुसार पुर्चौडी नगरपालिकाले ८१.२५ अंक पाएको छ ।

यस्तै दोगडाकेदार गाउँपालिकाले ७३.५०, दशरथचन्द नगरपालिकाले ७०.२५, शिवनाथ गाउँपालिकाले ६७.५०, डिलासैनी गाउँपालिकाले ६४, सिगास गाउँपालिकाले ६३.७५, पञ्चेश्वर गाउँपालिको ५९.५०, मेलौली नगरपालिकाले ५७.२५, पाटन नगरपालिकाले ४८.२५ अंक पाएको छ । जिल्लामा सबैभन्दा कम सुर्नया गाउँपालिकाले ४०.२५ अंक मात्रै पाएको छ ।

पालिकाहरूको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सामाजिक समावेशीकरणजस्ता सूचकलाई मूल्यांकनको आधार मानिएको हो ।

यस्तै, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य तथा समन्वयसहितका १० वटा सूचकका आधारमा स्थानीय तहले आफ्नो कामको मूल्यांकन गरेका हुन् ।

तर, यसमा अंकभार निर्धारण गर्दा पुष्टि हुने कागजात वा प्रमाण पनि अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.