बैतडी : गाउँगाउँमै अल्ट्रासाउन्ट सेवा दिदै पाटन नगरपालिका
जनक साउद–असोज २३ / बैतडीको पाटन नगरपालिकाले ग्रामीण अल्ट्रासाउन्ट सेवा शिबिर सञ्चालन गरेको छ । असोज १९ गतेबाट नगरपालिकाको बिभिन्न वडाहरुमा गर्भवती महिलाहरुको चेकजाँचको लागी सेवा सुरु गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक मदन सिँह महराले जानकारी दिनुभएको छ । अहिलेसम्म बिभिन्न ४ वडाहरुमा ग्रामीण अल्ट्रासाउन्ट सेवा शिबिर सम्पन्न भएको उहाले जानकारी दिनुभयो । वडा नम्बर ४, ५, २ र वडा नम्बर ३ मा शिबिर सम्पन्न भएकोे बताउदै स्वास्थ्य संयोजक महराले अहिलेसम्म झण्डै १ सय जना गर्भबती महिलाहरुले चेकजाँच गराएको बताउनुभयो । अन्य वडाहरुमा पनी शिबिर सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । महिलाहरुलाई गर्भाअबस्थामा बिभिन्न समस्याहरु हुने गर्दछन । अल्ट्रासाउन्ट सेवाबाट त्यी समस्याहरुको पहिचान गरी समयमै उपचार गर्न सकिने भएकोले नगरपालिकाले गाउँगाउँमै सेवा दिईरहेको हो । गर्भाअबस्थामा बिभिन्न समस्याहरु उत्पन्न भएर महिलाहरुको ज्यानै समेत जाने गरेको छ । ग्रामीण भेगका गर्भवती महिलाहरु कोही अशिक्षाले त कोही अन्य समस्याले गर्भचेक गराउने हिच्किचाउने गर्दछन । अहिले नगरपालिकाले टोल स्तरमै ग्रामीण अल्ट्रासाउन्ट सेवा शिबिर सञ्चालन गर्न थाले पछि महिलाहरुलाई सहज भएको छ ।