बैतडीका ६ ओटा स्वास्थ्य चौकीहरु स्तरोन्नती हुने
बैतडी–असोज २२ / बैतडीका ६ ओटा स्वास्थ्य चौकीहरु स्तरोन्नती हुने भएका छन् । संघीय सरकारले लिएको नीतिअनुरुप जिल्लाका बिभिन्न ६ ओटा स्वास्थ्य चौकीहरु स्तरोन्नती हुने भएका हुन । पुर्चौडी नगरपालिकाको न्वादेउ स्वास्थ्य चौकी, दोगडाकेदार गाउँपालिकाको सित्तड स्वास्थ्य चौकी, डिलाशैनी गाउँपालिकाको डिलाशैनी स्वास्थ्य चौकी, सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्य चौकी, पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्य चौकी र शिबनाथ गाउँपालिकाको सुल्लेखान स्वास्थ्य चौकी स्तरोन्नती हुने सघिंय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । स्तरोन्नतीका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बजेट निकासा भईसकेको बताउदै मन्त्रालयले स्थानिय तहहरुलाई कार्तिक मसान्तसम्म निर्माण कार्य प्रारम्भ गर्न परिपत्र गरेको छ । पुर्चौडी नगरपालिकाको न्वादेउ स्वास्थ्य चौकी १५ शैयामा र अन्य ५ ओटा स्वास्थ्य चौकीहरु १० शैयामा स्तरोन्नती हुने मन्त्रालयले जनाएको छ । १० शैयाको अस्पतालको लागी ८५ लाख र १५ शैयाको अस्पातलको लागी १ करोड बिनियोजन गरिएको छ । स्थानियहरुले स्वास्थ्यचौकी स्तरोन्नती भएपछि स्वास्थ्यका सेवाहरु गाउँमै पाउन सजिलो हुने अपेक्षा गरेका छन ।