बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सम्पन्न, ३ सय राँगा र बोकाको बलि

बैतडी  बैशाख ४ : बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सम्पन्न भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौं स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा चैतेदशैँको अवसरमा मंगलबार लागेको बलीसहित जात्रा सम्पन्न भएको निङ्गालशैनी धार्मीक सेवा समितिले जनाएको छ ।

जात्रामा १ सय ८९ राँगा र १ सय बोकाको बलि दिइएको छ । चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको निङ्गलाशैनी भगवती मन्दिरमा आज पशुबलि सहितको भव्य जात्रा सम्पन्न भएको हो। निङ्गलाशैनी भगवती मन्दिरमा जिल्लाकै सबैभन्दा बढी पशुबलि दिने गरिन्छ । भाकल अनुसार राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा चैत्राष्टमी र महाष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमका दिन लाग्ने मेलामा बलि दिइदैन ।

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरु आउने गरेका छन् । निङ्गलाशैनी भगवती मन्दिरमा आज बिहानै देखि भक्तजनको भिड थियोे । जात्रामा नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुगेका थिए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
जात्रामा देहीमाण्डौं वरपर मदिरा विक्रीवितरण तथा सेवन पूर्ण रूपमा बन्द गरिएको थियो।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.